विकास हो या विनास ?

समाज परिवर्तनशील छ,बिकास तिब्र गतिमा भइरहेका छन्।गाउँ गाउँमा बाटो,घरघरमा चर्पी,टोलटोलमा पसल,एले त सबै तवरले सजिलो मात्रै भेटिन्छ,पहिले दश दिन लगाएर हिडेर जानुपर्ने स्थलमा एले दश मिनेटमा पुग्ने प्रबिधि पनि आइसकेको छ।
ओहो भाग्यमानी
हामी सबैलाई गौरव छ,
आधुनिक जमानाका हामी,
यो भन्दा खुसी हुने ठाउँ नै छैन,
आधुनिक समाज,
आधुनिक संसार,
आधुनिक प्रबिधि
वाह जीवन :
वाह जीवनशैली :
तर यही जीवशैलीमा रमाएका हामीले केही कुरो बिर्षेका पनि छौ।
सायद म ग्रामीण समुदायमा हुर्कने अवशर पाएर होला कहिलेकाही सुन्छु हाम्रा बुवाहरुले धेरै दिन लगाएर घरमा खाने नुन ल्याइएको कुरो,
सुन्दा एक हिसाबले नरमाइलो लाग्छ
यस्तो लाग्छ
ओहो त्यति टाढाबाट कसरी बोक्न सक्नु भयो होला भनेर
अर्को हिसाबले रमाइलो पनि
रमाइलो यो हिसाबले लाग्छ
नुन लिन जांदाको समुहले आफ्नै हिसाबले गरेका उट्पट्याङ गफ,
आउँदा जांदाको बास बसाइ,
घना जङ्गलको बाटोमा यात्रा,
त्यो बेलाको संसार परिकल्पना गर्दा वास्तवमा एले मलाई मन पर्छ।
एले हामीले इज्जत लुटेका त्यो बेलाका वनजंगल परिकल्पना गर्छु,अनि मलाई त्यो संसार मन पर्छ।
एले हामीले सिउंदो उजाड पारेका त्यो बेलाका लालीगुरांस परिकल्पना गर्छु अनि मलाई त्यो संसार मन पर्छ।
यसो सम्झन्छु हामीले गरेको बिकास के वास्तवमा बिकास हो त ?
आजभन्दा एघार बर्ष अघि म पुगेको पाथिभरा मन्दिरमा म पैदलमार्गबाट पैदल यात्री भएर पुगेको थिए।
थकाइ लागेको हुन्थ्यो तरपनी आफ्नै हिसाबले आनन्द महशुस हुन्थ्यो।
ती ठाउंमा भएका रुखबुट्यान,किटपतंग
चराचुरुङ्गी,वन्यजन्तु आफ्नै शैलीमा रमाएको देख्दा आनन्द महसुस नहुने कुरै हुदैनथ्यो।
चिस्यान अत्यधिक हुने कारण रुखहरुमा पलाएको झ्याउहरुको पनि बेग्लै सौन्दर्य थियो।
लालीगुरांसहरुले ढकमक्क भएका वनहरु भर्खरै बिवाहा गरेकी नवदुलहीको सिउंदो खुलेझै खुलेको देखिन्थ्यो। क्रमश बिकासको गति तिब्र हुनथाल्यो। बाटो गोरेटो नभएर सिमेन्ट लगाइएको सिडिको रुपमा बदलिन कति पनि समय लागेन,बाटो बनाउनकै निम्ति रुख बुट्यान ढालिन थाले। अब हामीले सोचेको बिकासको वास्तविक रुप आंखै अघि छर्लङ्ग भयो,
जुन महत्व बोकेर हामी मन्दीर धाउने गर्थ्यौ त्यो महत्व सिमेन्टको सिडि चड्नमा होइन गोरेटो हिड्नमै रहेछ भन्ने कुराको अनुभुती अहिले हुंदैछ।
सिमेन्ट प्रयोग गरिएको प्रत्यक्ष असरले रुख बुट्यान मर्दै गएको र नाङ्गो भएको पाखो हामी नाङ्गा आंखाहरुले देख्न सक्छौ,अब रुखमा लाग्ने झ्याउ रुखनै नरहेपछी कसरी महत्वोपुर्ण बन्ला ?
के महत्वको हिसाबले हामीले गरेको विकाश विकाश हो त ?
के महत्वको हिसाबले किर्तिमता राम्रो हो त ?
या प्राकृतिक रुप नै ठिक थियो ?

अर्कोतिर अर्को कुरो अर्कै तरिकाले लुकेको रहेछ।हाम्रो स सानो क्रियाकलापले हाम्रै सबैभन्दा महत्वोपुर्ण सम्पती हाम्रो स्वास्थ नै धरापमा पर्दैछ, हामीले पसलमा किनेका चक्लेट, बिस्कुट, धर्मकै नाममा दिनहुुँ जलाउने अगरबत्ती र हाम्रा दैनिक प्रयोगमा आउने अत्यावश्यक सामग्री नुन, तेल, चिनी जस्ता सामग्रीहरु प्रयोग पछि तिनीहरुलाई पोक्याएका प्लास्टिक जन्य खोलहरुको उचित नियन्त्रण गर्न नसकेको कारण आज धेरै घाटा हामी स्वयंले भोग्दै छौ। ह्या यत्रो धेरै जनालाई वास्तै नभएका कुराहरु हमीले मात्रै किन वास्ता गर्नु र भन्ने भ्रमकै कारण हामी अरुलाइ पनि मार्दै छौ र अन्ततोगत्वा अरु सबैलाई मारेर आफू एक्लै बाच्नु कति सम्भव छ ?
अर्कोतर्फ मानसिकता बिकासको कुरो
पहिले धर्म नामका ढोकामा अल्झिने मानव सभ्यताको सांचो कसैलाई दुख दिनु पाप हो भन्ने ठान्दथ्यो, पेटभरि भोकैभोक भएको भोकोले पाकिरहेको खाना पनि आफ्नु कर्मद्वारा नआर्जिएको खाना खानु पाप हो भन्ने ठान्दै खादैनथ्यो अहिलेको मानसिकतामा सभ्यताको विकासको नाममा बिस्वासमा आएको गिरावटले अब त मन्छेले मान्छेलाई सहयोग गर्नै लागेको देख्दा पनि ठग्नै लागेको जस्तो भ्रम बन्न थालिसकेको छ।खासमा कहाँनेर मानबता छ ? ठुलो ठुलो फलामको ढोका र ठुलो ठुलो फलामे ताल्चामा हो ? या सिसि टिभि निगरानीमा ? बिश्वासको नाममा, धर्मको नाममा हामीले बनाउने गरेको नन्दिरको के खासमा महत्व छ त ?
हामीले बनाउदै गरेको मन्दिर बनाउनु र भत्काउनुको अर्थ छैन। आखिर बनाउदा र भत्काउंदा हुने त श्रमको नाश न हो।यदि प्राकृतिक रुपमा नै मन्दिरलाई वा धर्मलाई छोड्न सक्ने भए त्यो हो धर्म, त्यो हो पूजा । प्राकृतिक स्वरुपमा कुनै महान आत्मा रहेको थाहा पाएर त्यस ठाउँलाई देवालय मानिएको हो, र हामीले यस्ता ठाउंलाइ हाम्रो स्वच्छ विवेक प्रयोग गर्दै मन्दिरको रुप दिन चाह्यौ, तर खासमै हामीले बनाउने भौतिक संरचना भित्र थुनेर हामीले मानेका भगवान राख्न सकिन्छ जस्तो मलाई लाग्दैन। देवालयमा पुग्ने जति सजिला मार्ग तयार गरिन्छ त्यति देवालयको महत्व घट्दै जान्छ र देवता राख्नको निम्ति जति भौतिक संरचना निर्माण गरिन्छ त्यति वास्तविक भगवान मानिएका आस्थाहरु घट्दै जान्छ्न।

बरु हामीले मानेको बिकास र बिकाशको निम्ति हामीले गर्दै गरेको आफैंसंगको पापको अन्त्य गर्न सके वास्तविक बिकाश हुन्छ, वास्तविक धर्म हुन्छ। अनि किर्तिम खुसी र मान प्राप्तिको निम्ति हामीले गर्दै गरेको आफैंसंगको पापले हामीले के वास्तविक खुसी कमाउंदै छौ त ? यो हो मान ? यो हो सम्मान ? भोलि राम्रो होला भनेर बिदेशिएका बेरोजगारले आफ्ना सपना भन्दा ठुला काठका बाकसमा फर्किनु के आफैले आफैलाइ गरेको पाप होइन ? एउटा भर्खरै विवाह गरेको युवाले आफ्नु घर, मायां, ममता, बुवा, आमा,दिदी, बहिनी, भाइ, दाजु, आफन्त, नातागोता, श्रीमती सबै
छोडेर अलिकति भौतिक सम्पतीको निम्ति आफ्नु ज्यान बेच्नु पाप होइन ? अनि वास्तविक खुसी के हो ? भौतिक सम्पति या आफ्नै शरीर ? के हामी राक्षस भन्दा अझै ठुला राक्षस होइन त ? राक्षसले त कम्तीमा आफैसंग भएकाहरुको त रक्षा गर्छ भन्ने सुनेको थियोे हामी त आफ्नै शरीरको पनि भौतिक सम्पतिको लागि सौदा गर्ने सौदागर पो रहेछौं। वाह जीवन, वाह जिवनशैली। के हामी हाम्राहरुसंग रहेर हामीलाई बचाउन सक्दैनौं ? बरु ओछ्यान बिनाको खाटमै मात्रै किन नहोस् तर आफ्नैहरुसंगको निन्द्रा मिठो हुन्छ ।
खुसी किन्न ठुलो धन होइन, ठुलो मन चाहिन्छ ।

अब हामीले बांच्न अरुलाइ पनि बचाउन पर्छ। वास्तवमा यो हो हामीले चाहेको समाज।
यही यो धर्म।यही हो हामी मानवले बोल्नुपर्ने भाषा।यसैलाई भन्न सकिन्छ बिकास।अनि यही हो सफलता र हामीले प्राप्त गर्न खोजेको उचाई।यदि हामी बांच्दा बांच्दै पनि कसैलाई बचाउंन सकदैनौ भने खै प्राप्ति ? खै सफलता ? खै बिकास ? खै सन्तुष्टि ? खै समाज ? यदि यी केही रहंदैनन भने हामी चैं कहाँनेर रहने ? अब मानबता बेचेर पैसा हैन, पैसाले मानवता किन्ने समय आएको छ।
मानव अस्तित्व एक अर्कोसंग संबन्धित हुने कुरामा दुई मत छैन।
चाहे भित्री आस्था जे सुकै किन नहोस्
जातीय हिसाबले वा राजनैतिक अथवा बैचारिक ।
हामी मानव हौं र असली पहिचान यही हो।
एउटै दियो बलेर पनि उज्यालो त सम्भव छ होला।
तर आफैं भित्रको अन्धकार हटाउन अर्को दियोको अस्तित्व स्विकार्ने कि अन्धकार मै रहने ?
दुई दियो संगै बल्दा एकले अर्काको अध्यारो उज्यालोमा बदल्न सकिन्छ भने उज्यालोमा रहने वा अध्यारो रोज्ने ? यदि तपाईं आफ्नु अस्तित्व रक्षाको निम्ति अर्को अस्तित्व मार्ने नै भए, आजैदेखि आफ्नै सन्ततिको रक्षा गर्न छोड्नुहोस !
एकै पुस्ता काफी छ, अस्तित्व बिस्तार रोक्न !
र एक्लै जीएर हेर्नुस् !
आफुभित्र अन्धकार नै हुनेछ।

प्रतिकृया दिनुहोस