काभ्रेपलाञ्चोकमा तीजको दर खाँदा सयौं गाउँले बिरामी

सिंहलिला समाचार
भदौं २६


 काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२, काँसकोटमा रहेको ग्रामीण स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार आयोजना गरेको दरखाने कार्यक्रममा सहभागी भएर दर खाँदा सो गाउँका सयौं महिला–पुरुष बिरामी परेका छन् ।

दर खान गएकी गीता खनालले भनिन्–‘गाह्रो भएर कोही सुतिरहनु भएको छ, कोही अस्पतालमा लगिसकेको र कोही ल्याउनेक्रममा रहेको छ ।’अर्का बिरामी पाँचखाल नगरपालिका–९, भेटवालथोकका देवकुमारी भेटवालले सहकारी संस्थाको आयोजनामा भएको दर खानेक्रममा बिरामी परेको बताइन् ।

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले गाउँमा सहकारीले आयोजना गरेको तीजको भोज दर खाँदा गाउँभरिका मानिस बिरामी परेको र उपचारका लागि स्वाथ्य शिविर खडा गरी उपचार गराइरहेको बताए ।

खरेलले भने–‘झन्डै ३०० भन्दा बढी नै बिरामी भएको अवस्था छ । केहीको बनेपा र धुलिखेलमा उपचारका लागि पठाइसकेको र बाँकीको गाउँमा नै उपचारका लागि पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र र धुलिखेल अस्पतालको स्वास्थ्यकर्मीको टोलीले उपचार गराइरहेको छ ।’

जिल्ला प्रहरी कार्यालय प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक गिरीकाअनुसार घटनास्थललगायत पाँचखालमा भएको पोलिक्लिनिक, बनेपा र धुलिखेलका अस्पतालमा गरी २०० भन्दा बढीको उपचार भइरहेको छ ।

सामूहिक भोजमा भएका कारण एकैपटक धेरैजसो बिरामी परेकाले सबैजसो ठाउँमा उपचार भइरहेको हुँदा संख्या एकीन हुन नसकेको गिरीले बताए । उनकाअनुसार नजिकै रहेको इनार र कुवाको पानी प्रयोग गरेको भन्ने स्थानीय बासिन्दाले जानकारी दिएकाले ती ठाउँमा भएको पानी झिकेर फाल्ने तयारी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काकाअनुसार धुलिखेल सामुदायिक अस्पतालमा ७० जना, शिर मेमोरियल अस्पताल बनेपामा ३३ जना, बनेपा हस्पिटलमा १० जना र २६ जनालाई काठमडौंस्थित सिभिल हस्पिटलमा पठाइसकेको छ भने बाँकीको स्थानीयस्तरमा नै उपचार भइरहेको छ । (इमेजखबर बाट)

प्रतिकृया दिनुहोस