डाँगीहाट गोल्डकप आयोजक डाँगीहाट युथ क्लबलाई पराजित गर्दै विर्तामोड अन्तिम चारमा प्रवेष

सिंहलिला समाचार
भदौ २५

झापाको विर्तामोड युनाइटेड मोरङको लक्ष्मीमार्गमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण बुद्ध एयर डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेष गरेको छ । आइतबार भएको खेलमा आयोजक डाँगीहाट युथ क्लबलाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन विर्तामोडले सेमिफाइन यात्रा तय गरेको हो ।

रोमाञ्चक प्रतियोगिताको निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि टाईब्रेकरबाट खेलको छिनोफानो गर्नु परेको थियो । टाईब्रेकरमा घरेलु मैदानमा आयोजकलाई स्तब्ध बनाउँदै पहुना टोली विर्तामोड विजयी बन्यो । पृथ्वी चौधरी, रोशन थाम्स्वाङ, नानी लिम्बू, संजय धिमाल र दिलेन लोक्तामले गोल गर्दा विर्तामोडको जित पक्का भयो ।

आयोजकका तर्फबाट अरुण लिम्बू, उमेश कार्की र विक्रम लिम्बूको प्रहार गोलमा परिणत भयो । सुरेन्द्र खवासको प्रहारलाई विर्तामोडका गोलरक्षकले विफल पारिदिए । घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरे पनि विपक्षीलाई नतिजा सुम्पिएको आयोजकले पहिलो डाँगीहाट गोल्डकपमा विर्तामोडसंगै सेमिफाइनलमा भोगेको पराजयको बद्ला समेत लिन पाएन ।

विर्तामोडले पनि खेल अवधिमा गोल गर्नका लागि पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा जितका लागि टाईब्रेकर सम्म पर्खनु पर्यो । १४ औं मिनेटमा तीर्थ बस्नेतको प्रहार दायाँ बार हुँदै बाहिरिंदा आयोजकले अग्रता लिने अवसर गुमायो ।  ५४ औं मिनेटमा आयोजकका विक्रम लिम्बूको फ्रिकिक प्रहारले विपक्षी बार भत्काउन सकेन । ६५ औं मिनेटमा तीर्थकै दोस्रो प्रयासमा पनि विर्तामोडका गोलरक्षक बाधक बने ।

७३ औं मिनेटमा अरुण लिम्बूको प्रहार क्रसबारमाथिबाट बाहिरिएपछि आयोजकले कुनै मौका पाएन । त्यसपछि खेल टाईब्रेकरमा धकेलियो । ४० औं मिनेटमा विर्तामोडका रोजिन माझीको कर्नर पासमा रोशन थाम्स्वाङको हेड प्रहार पोष्टमाथिबाट बाहिरियो । ६० औं मिनेटमा विर्तामोडका विशाल दर्जीले गरेको हेड प्रहारमा आयोजकका गोलरक्षक बाधक बने । ७२ औं मिनेटमा नानी लिम्बूको प्रहार क्रसबारमाथिबाट बाहिरिंदा विर्तामोडले निर्धारित समयमा नतिजा निकाल्न सकेन ।


आइतबारको खेलको म्यान अफ दी म्याच विर्तामोडका आशिष चापागाई घोषित भए । सोमबारको खेलमा भारतको खर्साङ युनाइटेड क्लब र मोरङ फुटबल एकेडेमी मंगलबारेबीच प्रतिष्पर्धा हुने छ । (पूर्बेलीन्युजबाट)

प्रतिकृया दिनुहोस