साफ च्याम्पियनसिप अनौठो संयोग गोलाप्रथाबाट  नेपालको प्रतिद्वन्द्वी माल्दिभ्स 


सिंहलिला समाचार
भदौं २५

साफ च्याम्पियनससिप फुटबलमा नेपालले सेमिफाइनलमा माल्दिभ्स प्रतिद्वन्द्वि पाएको छ। समुह ‘बि’ को रोमाञ्चक समिकरणमा पहिलो पटक साफ च्याम्पियनसिपमा अघिल्लो चरण प्रवेश गर्ने टिमको छनोट गोलाप्रथाबाट भएको थियो।

जसमा श्रीलंका अभागी सावित भयो। माल्दिभ्स र श्रीलंकाको समान १ अंक हुँदा गोल डिफ्रेन्स र कार्डपनि बराबरी नै भएपछि सेमिफाइनल पुग्नका लागि दुई टिमबिच गोलप्रथा प्रयोग गरिएको थियो। आयोजक दक्षिण एसियाली फुटबल फेडेरेसनले गोलाप्रथाबाट टिम छनोट गर्दा माल्दिभ्सले बाजी मार्न सफल भएको हो ।

माल्दिभ्स र श्रीलंकाले भारतसँग समान २–० को हार बेहोरे। साफ च्याम्पियन्सिप अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा भारतले आइतबार माल्दिभ्सलाई २–० ले पराजित गरेको हो।  यस नतिजासँगै भारत समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। भारतका लागि दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

भारतका लागि निखिल पुजारीले ३६ मिनेटमा सुरुआती अग्रता दिलाएका थिए। मनवीर सिंहले ४४ औं मिनेटमा दोस्रो गोल गरे। दुवै खेलाडीको देशका लागि यो पहिलो अन्तर्राष्ट्रिय गोल हो। समूहको यसअघिका खेलमा भारतले श्रीलंकालाई २–० ले पराजित गरेको थियो भने माल्दिभ्स र श्रीलंकाको खेल गोलरहित बराबरीमा टुंगिएको थियो। 

आइतबारको खेलमा माल्दिभ्स २–० ले नै पराजित भएपछि नेपालको प्रतिद्वन्द्वी गोलाप्रथाबाट छिनोफानो भएको हो। नेपालले अब माल्दिभ्ससँग सेमिफाइनल खेल्नेछ भने पाकिस्तान र भारत फाइनल प्रवेशका लागि भिड्नेछन्। सेमिफाइनल खेल बुधबार हुनेछ। नेपालको सेमिफाइनल खेल नेपाली समय अनुसार ३:४५ बजे हुनेछ। नेपाल भने समूह विजेताको रुपमा शनिबार नै अन्तिम चारमा स्थान बनाउन सफल भएको थियो ।(थाहाखबरबाट)

प्रतिकृया दिनुहोस