नागीमा बल्यो बिजुली

माघ २८,२०७५

पाँचथरको याङ्वरक गाउँपालिकाको वडा नं. ५ र ६ साबिक नागी गा‍.वि.स.का चार सय ५० घरमा विजुली बत्ति बलेको छ ।

विजुली बत्ति बलेपछि नागीवासीको वषौँदेखिको बिजुली बत्ति बाल्ने चाहना पूरा भए पछि हर्सले प्रफुलित भएका छन । राष्ट्रिय प्रसारण लाइन १ सय ३२ केभीएको अमरपुर सब–स्टेशनबाट नागीमा विद्युतीकरण गरिएको हो । कूल नौ सय २० घरमा विद्युतीकरण गर्नु पर्नेमा पहिलो चरणमा चार सय ५० घरमा विद्युतीकरण गरिएको हो । अब चार सय ७० घरमा विद्युतीकरण गर्न बाँकी रहेको विद्युतीकरण गराउँदै आएको संस्था गडी ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडले जनाएको छ । संस्थाका अनुसार विद्युतीकरणका लागि कूल ६ करोड २० लाख रूपैयाँ बजेट छ । जसमध्ये बजेटको ९० प्रतिशत अर्थात पाँच करोड ५९ लाख रूपैयाँ नेपाल विद्युत प्राधिकरण र बजेटको १० प्रतिशतले हुन आउने ६१ लाख ५७ हजार रूपैयाँ उपभोक्ताले बेहोरेका छन् । उपभोक्ताले बेहोरेकोमध्ये पनि २७ लाख रूपैयाँ भने अरूण कावेली विद्युत कम्पनीले सहयोग गरेको हो । याङ्वरक गाउँपालिका तथा ५ र ६ नम्बर वडापालिकाले टीओडी मिटरसँगै आवश्यक सामग्री खरिदमा १५ लाख रूपैयाँ सहयोग गरेको गडी ग्रामिण विद्युत सहकारी संस्थाले जनाएको छ ।

विद्युतीकरणको काम भने जयदुर्गे र त्रिपुरेश्वर जेभीले गरेको हो । ठेक्दार कम्पनीले १८ महिनामा विद्युतीकरण गरिसक्नु पर्ने भएपनि ३९ महिनामा मात्रै सकेको हो । विद्युतिकरणको जिम्मा पाएको ठेक्दार कम्पनीले बन्द हट्ताल र वर्षातको कारण देखाउँदै काममा ढिलाई गरेको थियो । तर प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङ र एक नम्बर प्रदेश सांसद गणेशकुमार काम्बाङले ठेक्दार कम्पनीलाई छिटो काम सक्न दवाव दिएपछि कामले गति लिएको थियो । यसैवीच सोमबार प्रतिनिधिसभा सांसद नेम्बाङले विद्युतीकरणको उद्घाटन गर्नु भएको छ । सो क्रममा उहाँले घरघरमा विजुली,जनजनमा शेयर वितरण गर्ने सरकारको विद्युत नीति रहेको भन्दै अब जनता मालिक बन्ने दिन आएको बताउनुभयो । ʻकाबेलीमा विद्युत परियोजना निर्माणधिन छ । त्यहाँ तपाईहरूले शेयर लगाउनुभयो ।ʼ उहाँले थप्नुभयो, ʻशेयरधनी हुनु भनेको मालिक हुनु हो । कम्युनिष्ट सरकारले जनतालाई मालिक बनाउँदै आर्थिक रूपमा समृद्ध बनाउँछ ।ʼ उहाँले आजैदेखि याङवरक गाउँपालिका समृद्धीतर्फ उन्मुख भएको पनि बताउनुभयो । यससँगै प्रदेशसभा सदस्य गणेश काम्बाङले ʻउज्यालो याङवरक,समृद्ध याङवरकʼ भएको बताउनुभयो । उहाँले जनतासामू गरेका बाचाहरु पूरा हुँदै जाने पनि बताउनुभयो । विद्युतीकरण उद्घाटन कार्यक्रमलाई नेकपा नेता महेन्द्र जवेगू ʻफुङ्निमाʼ ,याङवरक उपाध्यक्ष कमलकुमारी योङहाङ लगायतले सम्बोधन गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस