दाताहरुले गरिदिए प्यारालाइसिस् हस्तवीरका लागि सम्पूर्ण सामग्रीको जोहो

सिंहलिला समाचार
प्यारालाइसिस् भएर विगत तीन वर्षदेखि थला परेका पाँचथरको हिलिहाङ गाँउपालिका वडा नं. ६ टुवाका हस्तवीर योङहाङलाई सहयोगी दाताहरुले आवश्यक पर्ने सम्पूर्ण सामग्रीको जोहो गरिदिएका छन् ।


कर्मी कान्छो नामले चिनिएका हस्तवीर विगतमा ढुङ्गा फोर्ने, गाह्रो लगाउने, दाउरा काट्ने लगायत कार्यमा आफ्ना छरछिमेकीका भरोसा थिए । तर, प्यारालाइसिस् भएपछि उनी तीन वर्षदेखि घरमै थलिएका थिए । विगतबाटै राम्रोसँग बोल्न नसक्ने योङहाङलाई स्थानीयवासी रविन तिम्सिना, नरेन्द्र पन्थाक लगायतको पहलमा शनिवार करीब २५ हजार रुपैँया बराबरको दैनिक उपभोग्य सामग्री, लत्ता कपडा तथा घरायशी सामग्री वितरण गरिएको हो । उनीको पहलमा ब्यवसायी हाङनारायण सुब्बा, नोम सापकोटा, भरत अधिकारी, छवि तिम्सिना, खेमनाथ मिश्र, दुर्गा रिजाल, राजेन्द्र उप्रेती, प्रयागराज सुवेदी, रमेश गजुरेल, रोमन न्यौपाने, मनोज ढकाल, नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखा, भाष्कर रिजाल, गणेश पोखरेलले खाद्य सामग्री तथा लत्ता कपडा प्रदान गरेका थिए । पन्थाकले सामाजिक सञ्जाल मार्फत दाताहरुबाट १० हजार रुपैँया नगदै सङ्कलन गरि सोको समेत खाद्य सामग्री तथा लत्ता कपडा खरिद गरि शनिवार एकैसाथ वितरण गरिएको हो ।


प्यारालाइसिस्ले थलिएका योङहाङलाई हिलिहाङ गाँउपालिका वडा नं. ६ का वडाध्यक्ष कृष्णबहादुर यवा, स्थानीय अगुवा लोकनाथ रिजाल, राजन खतिवडा, देउराज नेम्वाङ लगायतले सङ्कलित सामग्री वितरण गरेका थिए । सो अवसरमा वडाध्यक्ष यवाले रु. १ हजार तथा अगुवा रिजालले रु. ५ सय रुपैँया योङहाङलाई प्रदान गरे । सोही अवसरमा वडाध्यक्ष यवाले दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै योङहाङलाई अपाङ्गता परिचय पत्र उपलब्ध गराउन पहल गर्ने, सहयोगीहरुको पहिचान गरि उपचारका लागि पहल गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

 

प्रतिकृया दिनुहोस