आजबाट राष्ट्रिय परिचयपत्र वितरणको सुरु

सिंहलिला समाचार फिदिम
 पाँचथर जिल्लाको फिदिमबाट नेपालमै पहिलोपटक राष्ट्रिय परिचयपत्र वितरणको  सुरु गरिएको छ । एक कार्यक्रमबीच गृहमन्त्री रामबहादुर थापाले पाँचथर जिल्लाकै सबैभन्दा जेष्ठ १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई परिचय पत्र वितरण गरेर शुरु गरिएको हो । भण्डारीलाई गृह मन्त्रीले परिचयपत्र दिए पछि गृहमन्त्री थापालाई पनि भण्डारीले परिचयपत्र प्रदान गर्नु भएको हो ।
सरकारी निर्णयानुसार पहिलो पटक पाँचथरका नागरिकलाई परिचयपत्र वितरण गरिएको हो । सोमबारदेखि सुरु परिचयपत्र वितरण निरन्तर चल्ने छ ।
पहिलो दिन पाँचथरका ५० जना नागरिकलाई परिचयपत्र वितरण गरिएको हो । पहिलो चरणमा पाँचथरका र सिंहदरबारभित्र काम गर्ने कर्मचारीलाई परिचयपत्र  वितरण गर्न थालिएको हो ।
व्यक्तिका सम्पूर्ण विवरण राख्न मिल्ने गरि परिचय पत्र बनाइएको छ । १० वटा अंक रहेको परिचयपत्रमा प्रत्येक व्यक्तिको नम्बर फरक फरक रहने परिचय पत्र वितरण तथा पञ्जिकरण महाशाखाले जनाएको छ ।
नागरिकता लिएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गर्न थालिएको हो । दीर्घकालमा बच्चा जन्मनेबित्तिकै १० अंक भएको परिचयपत्र गरिने महानिर्देशक काफ्लेले जानकारी दिए । बायो मेट्रिक चिप्सको प्रयोग गरेर परिचयपत्र निर्माण गरिएको परिचयपत्रमा धेरै विवरण अटाउन सकिने भएपछि सुरुमा वैयक्तिक विवरण र जैविक विवरण मात्रै राखिएको छ ।

परिचयपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले पाँचथर मुलुककै भाग्यमानी जिल्ला भएको बताए । ‘घाम पुर्वबाट उदाउछ, विकास र समृद्धी पनि पुर्वैबाट उदााछ’ थापाले भने ‘मुलुकलाई समृद्धितर्फ लैजाने अभियान अन्तर्गत राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको हो ।’

नागरिकको सुरक्षाका लागि अत्याधुनिक परिचयपत्र वितरण गरिएको मन्त्री थापाको भनाई छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अब मुलुकले विस्तारै मुहार फेर्ने बताउनु ।
सरकारले एक पछि अर्को नयाँ र समय सुहाउँदो काम गर्दै जाने उनको भनाई थियो । ‘सरकाले केही नगरेजस्तो आम जनतालाई लागेको हुनसक्छ,‘यसरी नै सरकारले नयाँ र परिणामुखी काम गर्दै जानेछ ।’
कार्यक्रममा गृहमन्त्री थापासहित प्रदेश १ का मुख्यमन्त्री राई, प्रतिनिधि सभाका साँसद बसन्तकुमार नेम्बाङ, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो, प्रधामन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारी, गृहसचिव प्रेमकुमार राई र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्ले, प्रदेश सभाका साँसद सीता थेवे, आशारत्न जबेगु, पुर्व मन्त्री तथा साँसदहरु, सबै गाउपालिकाका अध्यक्ष उपाध्यक्ष, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु सहितको सयौंको संख्थामा नागरिकहरुको उपस्थित रहेको थियो ।

 

प्रतिकृया दिनुहोस