१०१ वर्षीया बृद्धाबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ हुने

रबिन्द्र काफ्ले

फिदिम

पाँचथरको फिदिमकी १०१ वर्षीया जेष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ हुने भएको छ ।
नेपालमै पहिलो पटक सोमवार पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको थालनी हुँदैछ । पाँचथरको फिदिम नगरपालिका वडा नं. ४ शान्तिपुरकी भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको सुरुवात गर्न लागिएको हो । भण्डारीलाई राष्ट्रिय परिचय पत्र प्रदान गरेर वितरण कार्य शुभारम्भ गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सोमवार पाँचथर आउने कार्यक्रम तय भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो । बयोवृद्धा भण्डारीबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्यको थालनी भएको थियो ।
राष्ट्रिय परिचयपत्र वितरणको कार्यलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन शुभारम्भ कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, गृहसचिव प्रेमकुमार राई लगायत विशिष्ट ब्यक्तित्वहरु समेत सहभागी हुने निर्देशक न्यौपानेले जानकारी दिनुभयो । उक्त कार्यक्रमको तयारी पूरा भएको तथा सोही अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम समेत आयोजना गरिएको उहाँले वताउनुभयो ।
सोमवार नै पाँचथरमा ५० जना नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । यसका लागि उहाँहरुको नामावली जिल्ला प्रशासन कार्यालय पाँचथरमा सार्वजनिक गरिएको छ । विवरण सङ्कलनको समयमा जस्तै राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने व्यक्तिको जैविक विवरण परीक्षण गरेर मात्रै वितरण गर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको तयारी छ । सोमवारदेखि पाँचथरमा निरन्तर राष्ट्रिय परिचयपत्र वितरणको कार्य अघि बढ्ने विभागले जनाएको छ । पाँचथर जिल्लामा नेपालमै पहिलो पटक गत असार ५ गते राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको कार्य भइरहेको छ । हालसम्म पाँचथरका ५२ हजार नेपाली नागरिकको विवरण सङ्कलन भइसकेको पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिनुभयो ।
सरकारले आगामी तीन वर्षभित्र नेपालका सबै जिल्लाबाट राष्ट्रिय पहिचान बोकेको राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरिरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनाएको छ । यसै आर्थिक वर्षमा प्रदेश नम्बर १ का झापा र संखुवासभा, प्रदेश नम्बर २ का महोत्तरी र सप्तरी, प्रदेश नम्बर ३ का ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशका तनहु र स्याङ्जा, प्रदेश नम्बर ५ का कपिलबस्तु र गुल्मी, कर्णाली प्रदेशका सल्यान र जुम्ला तथा सुदुरपश्चिम प्रदेशका कञ्चनपुर र अछाम जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणको थालनी गर्ने कार्यक्रम रहेको निर्देशक न्यौपानेले जानकारी दिनुभयो । ती जिल्लामा कार्यालय स्थापना तथा जनशक्ति ब्यवस्थापनको कार्य चाँडै सुरु हुने उहाँको भनाई छ ।

प्रतिकृया दिनुहोस