मृगौला पीडितलाई सहयोग प्रदान

सिंहलिला समाचार फालेलुङ
फालेलुङ गाउँपालिका–३ ताङ्लेपाकी मृगौला पीडित ११ बर्षिया अमिशा केरुङको उपचारका लागि सात लाख रुपैंयाँ सहयोग प्रदान गरिएको छ ।
केरुङ उत्थान कोषले सोमबार फिदिममा आयोजना गरेको कार्यक्रममा उक्त सहयोग रकम प्रदेश–१, का प्रदेश सभा सदस्य एवं नेकपा संसदीय दलका सचेतक सीता थेबेले अमिशाका बाजे खड्गप्रसाद केरुङलाई हस्तान्तरण गरिन् ।
उक्त रकम राजेन्द्र केरुङ (नेपाल), बिराज केरुङ (युएइ), संगीता आङथुपो (इजरायल), डिना लिम्बू (पोल्याण्ड), धनबहादुर केरुङ (मलेशिया), प्रदीप केरुङ (बहराइन) र अनिता अन्छङबो (हङकङ) लगायतको सक्रियतामा संकलन गरिएको बताइएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत दुई महिनासम्म सञ्चालन गरिएको ‘अमिशा केरुङ बचाऔं अभियान’ को क्रममा देश–विदेशका सहयोगी नेपाली मनहरुबाट त्यतिका रकम संकलन गर्न सफल भएको अभियानमा संलग्न राजेन्द्रले बताए ।
दुबै मृगौला फेल भएकी अमिशाको उपचारमा हालसम्म नौ लाख खर्च भइसकेको र बाँकि उपचारका लागि आर्थिक अभाव भएको उनका बाजे खड्गप्रसादले बताए । उनले सहयोग रकम बुझ्दै ‘अमिशा केरुङ बचाऔं अभियान’ का सदस्य र सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

 

प्रतिकृया दिनुहोस