Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
साहित्य
चिकित्साशास्त्र पढ्न छाडेर जो आए लेखक बन्न

नेपाली साहित्यका पाठकहरूका लागि लु सुन ९ल्यू सुन, लु श्यून० नौलो नाम होइन । ‘आह क्युको साँचो कथा’ र ‘एक बौलाहाको डायरी’ जस्ता अमर आख्यान कृतिहरू लगायत यिनका थुप्रै फुटकर रचनाहरू नेपालीमा अनुवाद भएका छन् । लु सुनका कृतिहरूलाई नेपालीमा अनुवाद गर्नेहरूमा साहित्यकार शान्तदास मानन्धर अग्रणी रहिआएका देखिन्छन् । वर्षेनीजसोे विभिन्न नेपाली साहित्यिक पत्रिकाहरूमा तथा अखबारहरूमा लु सुनका बारेमा चर्चा पनि भइरहेकै हुन्छ । नेपालका केही साहित्यकारहरूको अग्रसरतामा महाकवि देवकोटासँग यिनलाई गाँसेर एउटा साहित्यिक संस्था ‘देवकोटा–लु सुन प्रतिष्ठान’ को स्थापना पनि भएको छ । यसले गर्दा नेपालका साहित्यकारहरूमा लु सुनप्रतिको प्रेमभाव सहजै बोध गर्न सकिन्छ । त्यति मात्र होइन, यसबाट लेखक, साहित्यकारहरू आफ्ना देश–कालका सीमाभन्दा पनि माथिका हुँदा रहेछन् भन्ने पनि सन्देश मिल्दछ । यही मंसिर २१ र २२ का दिन यस प्रतिष्ठानको अग्रसरतामा ‘लु सुनको जीवनी र कृतित्व’ झल्किने प्रदर्शनी चीनको बेइजिङस्थित ‘लु सुन संग्राहलय’ को सहयोगमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजन पनि भएको रहेछ । यस मेलोमा लु सुनबारे केही चर्चा सान्दर्भिक नै होला ।
हाम्रो छिमेकी देश चीनका आधुनिक र प्रगतिशील साहित्यका जनक लु सुन १३२ वर्षअघि चीनकोे पूर्वी प्रान्त झेजियाङको शाओशिङको मध्यम वर्गीय परिवारमा जन्मेका थिए । यिनी परिवारका चार छोरामध्येका जेठा छोरा थिए । यिनी जन्मले झाऊ शुरेन ९झाऊ झ्याङशाउ, युशान० थिए । यिनका बाजे झाऊ फिजिङ बेइजिङमा माथिल्लो तहका कर्मचारी थिए । यिनका बुबा झाऊ बोयी समाजका प्रतिष्ठित कन्फ्युसियेली बुद्धिजीवीमा गनिन्थे । झाऊ यिनको पैतृक थर थियो भने लु यिनको मातृक ९मावली ० थर थियो । आफ्नी आमाको साहस र दृढ सेवा भावनाले यिनी आमाप्रति सँधै नतमस्तक हुन्थे । आमाको त्यही ऋण तिर्न कर्मले यिनी ३७ वर्षको वयमा लु सुन बने । किनकि यिनको लालनपालन, शिक्षादीक्षा र संस्कार निर्माणमा सुसंस्कृत आमा लु रुईकै सर्वोपरि भूमिका रह्यो ।

यिनको जन्मताका चीन अर्धसामन्ती र अर्धऔपनिवेशिक राज्य थियो । क्विङ राजवंशको नेतृत्वको राज्यसत्ता भ्रष्टाचारी र कमजोर थियो तर साम्राज्यवादी शक्तिहरूको प्रभुत्व बढ्दो थियो । भ्रष्टाचारको आरोपमा बाजेको जागिर गयो । ७ वर्षको जेल सजाय पनि भोग्नु प¥यो र वर्सेनि तोकिएको जरिवाना तिर्नु पर्ने भयो । जरिवाना नतिर्दा फाँसी देलान् भन्ने डर भयो र सकी–नसकी जरिवानाको जोहो पनि परिवारले गर्नै प¥यो । यिनताकै यिनका बुबा झाऊ बोयीलाई क्षय रोगले गाँजिसकेको थियो । तिनताका क्षयरोग दुर्दमनीय रोगको कोटीमा पर्दथ्यो । थला परेका बाबु बोयी कहिल्यै उठन सकेनन् ओछ्यानबाट । एकातिर क्षयरोगले थलिएका बाबुको उपचार, अर्कोतिर, भ्रष्टाचारको आरोपमा जेलमा थुनिएका बाजेको रेखदेख । समाजमा जोरीपारी सब टाढिँदै गए । भएको सिरिखुरी सब रित्तिँदै गयो । मुखेञ्जी ठिक्क पारे पनि परोक्षमा सबले टीकाटिप्पणी गर्थे । कुरो काटथे, भ्रष्टाचारीका सन्तान भनेर । तर आमा लु रुईले तमाम विपत्ति झेलेर पनि परिवारलाई सम्हालिन् । कान्छो छोरो बालखैमा बिते पनि तीन छोराहरूको लालनपालन र शिक्षादीक्षाको बन्दोवस्त पनि मिलाइन् । शहरमा टिक्न नसकेर यिनको परिवार फेरि गाउँ फक्र्यो । किशोर सुरेनको कलिलो मष्तिष्कमा परिवारको यो स्थितिले गहिरो छाप छोड्यो । बिरामी बुबाको उपचार हुन नसकेकाले परम्परागत चिनियाँ चिकित्सा पद्धतिउपर यिनको विश्वास टुट्यो । बाजेउपर लागेको भ्रष्टाचारको बातले चित्त कुँडियो ।
माध्यमिक शिक्षा यिनले शाओशिङमै प्राप्त गरे ।
बाल्यकालमा लुसुन

यहीँ यिनले अङ्ग्रेजी र जर्मनेली भाषा पनि सिके र पश्चिमा साहित्यसँग यिनले चिनारी गर्ने मौका पाए । जोन स्टुअर्ट मिलको ‘स्वाधिनताबारे’, अल्डस हक्सलेको ‘विकासवाद र नैतिकता’, वाल्टर स्कटका उपन्यास र कविताहरू तथा ह्यारिओट स्टोवको ‘अङ्कल टम्स केबिन’ पढेपछि परम्परागत कन्फुसियसको विचारको घेरो नाघेर पश्चिमा विचारप्रति यिनको झुकाव बढ्दै गयो । माध्यमिक शिक्षापछि यिनी छात्रवृत्ति पाई आधुनिक चिकित्सा विज्ञानको अध्ययन गर्नका लागि १९०२ मा जापानको सेण्डाई शहरमा पुगे ।

चिकित्सा विज्ञानको अध्ययनका सिलसिलामा एक दिन त्यहाँका शिक्षकले युद्धसम्बन्धी एउटा वृत्तचित्र देखाए । तिनताका जापान र रुसको युद्ध पनि चलिरहेको थियो । त्यस वृत्तचित्रमा रुसीहरूको लागि गुप्तचरी गरेको आरोपमा पाता फर्काएर बाँधेर एक चिनियाँ सैनिकलाई जापानी सैनिकहरूले मरणान्त हुनेगरी कुटिरहेका थिए । अरु चिनियाँहरू त्यो दृश्य हेरेर पेट मिचीमिची हाँसिरहेका थिए । यो दृश्य देखेर यिनी निकै मर्माहत भए । मन छियाछिया भयो । थुक्क चिनियाँहरूको बुद्धि ‘यस्तो परचक्री ठाउँमा आफ्ना देशका मान्छे कुटिँदा पनि खित्का छाडेर कसरी हाँस्न सकेका’ कुटिने चिनियाँलाई देखेर हास्ने चिनियाँहरू मोटाघाटा र वलियाबाङ्गा थिए । त्यसैले यिनलाई लाग्यो– चिनियाँहरूलाई शारीरिक उपचारको होइन, मानसिक उपचारको खाँचो छ । तिनमा चिनियाँ बन्धुत्व र चिनियाँ राष्ट्रवादको भावना छैन । चिनियाँहरूको मानसिक उपचार साहित्यबाट मात्र हुन सक्दछ । यस्तो ठहरका साथ यिनी सेण्डाईको चिकित्सा विज्ञानको पढाइ छाडी साहित्य पढन टोकियो हानिए ।

यिनको जीवनमा यो एउटा यस्तो महत्वपूर्ण मोड थियो, जसले यिनमा राष्ट्रियताको भावना जागृत गर्ने हेतु साहित्यको भोक जगाइदियो । चार वर्षे टोकियो बसाइँमा यिनले पू्र्वी युरोपेली र रुसी तथा स्लाविक कथाहरू, पोल्याण्डेली नोभेल प्राज्ञ ९१९०५० हेनरिक सिन्केविजका कृतिहरू लगायत विज्ञान र दर्शनका बौद्धिक जागरणका केही कृतिहरू चिनियाँ भाषामा उल्था गरे । टोकियो प्रवासमै रहँदा यिनी क्विङ शासनविरोधी गतिविधिमा पनि लागे ।

१९०९ मा चीन फर्केपछि यिनी विद्यालय शिक्षक बने । विद्यार्थीकालदेखि नै जागरणसम्बन्धी विभिन्न लेखहरू लेख्न थालेका यिनले १९०९ मा पहिलो कथा ‘फर्केर हेर्दा’ लेखे । १९११ को राजतन्त्रविरोधी आन्दोलनमा बुद्धिजीवीहरूको नेतृत्व गर्दै यिनी सक्रिय भएर लागे । डा। सन यात् सेनको नेतृत्वको गणतान्त्रिक आन्दोलनको सफलतापश्चात्को सरकारमा यिनले शिक्षा मन्त्रालयमा विभिन्न महत्वपूर्ण पदमा रही शैक्षिक नेतृत्व सम्हाले । तर गणतान्त्रिक क्रान्तिले अपेक्षित सफलता पाउन सकेन । साम्राज्यवादी शक्तिहरूको दबदबा झन् झन् बढदै गयो । मुलुक गृहयुद्धमा होमियो । समाजमा चरम शोषण व्याप्त थियो । विश्वका साम्राज्यवादी शक्तिहरू युद्धमा होमिएका थिए । उता रुसमा समाजवादी क्रान्तिको सफलताले थिचिएका मिचिएका चिनियाँ जनतामा स्वतन्त्रताप्रति ठूलो उत्साह जगाइदिएको थियो । यस्तैमा यिनले लु सुनको छद्म नामबाट साम्राज्यवाद र सामन्तवादविरोधी कथा ‘एउटा बौलाहाको डायरी’ लेखे । यही कथाबाट चीनको आधुनिक कथा साहित्यको थालनी भएको मानिन्छ ।
आफ्नो परिवारका लुसुन
साम्राज्यवादीहरूले विश्वयुद्धको समापनतिर चीनको भागवण्डा गर्न लागेका थिए । जर्मनीको अधिनमा रहेको चीनको भूभागलाई भर्सेलिज सन्धिमार्फत् जापानलाई हस्तान्तरण गर्न लागेका थिए । साम्राज्यवादीहरूको उक्त षडयन्त्रका विरुद्ध चिनियाँ राष्ट्रवादी बुद्धिजीवी तथा विद्यार्थीहरू सशक्त रूपमा विरोधमा उत्रिए । चीनको इतिहासमा यो विद्रोेह मई ४ को आन्दोलनका रूपमा अङ्कित छ । यस आन्दोलनका अगुवाहरूमा अधिकांशतः वाम विचारका योद्धाहरू थिए । लु सुन यस आन्दोलनमा अग्रपङ्कितमा रहे । तिनै योद्धाहरूमध्येका अगुवा योद्धा प्राध्यापक ली दा झाओको नेतृत्वमा १९२१ मा चीन कम्युनिष्ट पार्टीको स्थापना भयो । यिनताकै यिनले ‘आह क्युको साँचो कथा’ लेखे ।

यिनी आजीवन चीनको स्वाधिनताका लागि साहित्य संस्कृतिको मोर्चाबाट सक्रिय भइरहे । यिनका माहिला भाइ पनि साहित्य संस्कृतिको मोर्चामा लागिरहे । निबन्धकारका रूपमा चिनियाँ साहित्यमा परिचित यिनका माहिला भाइ भित्रभित्रै जापानी साम्राज्यवादीसँग मिलेका रहेछन् । यसको भेउ पाएपछि भाइसँग यिनको सम्बन्ध बिग्र्यो । जापानविरोधी युद्धका बेला तिनी राष्ट्रद्रोहको आरोपमा गिरफ्तार गरिए र १४ वर्षको जेल सजाय पाए । १९४९ मा सम्पन्न जनवादी क्रान्तिपछि कम्युनिष्ट पार्टीले तिनको निन्दा गर्दै बाँकी कैद मिनाहा गरिदियो । यिनका कान्छा भाइ कम्युनिष्ट पार्टीका सक्रिय सदस्य रहे । उनी पार्टीको केन्द्रीय समितिको सदस्य हँुदै उपाध्यक्षसम्म भए । तर लु सुन आफ्नो जीवनकालभरि कम्युनिष्ट पार्टीको सदस्य बनेनन् । तर पार्टीको हरेक आन्दोलनमा सक्रियतासाथ लागि रहे । गणतान्त्रिक सरकार स्थापना भइसकेर पनि मुलुक विदेशी प्रभुहरूको चंगुलबाट मुक्त हुन नसकेकाले एक प्रसङ्गमा यिनले रोष प्रकट गर्दै भने– ‘१९११ को गणतान्त्रिक क्रान्ति असफल भयो । अब चीनमा कथित गणतन्त्र रहेन । मलाई लाग्दछ, क्रान्ति अघि हामी कमारा थियौँ र क्रान्तिको तत्कालपछि हामी कमाराहरूबाट ठगियौँ र हामी तिनको कमारा बन्यौं ।’

१९२८ मा यिनको चिनारी समाजवादी साहित्यसँग भयो । राजनीतिबाट परै रहने यिनको भ्रम टुट्यो र यिनले भने– ‘क्रान्तिकारी साहित्यले मात्र आमूल परिवर्तन ल्याउन नसक्ने रहेछ । त्यसका लागि त क्रानितकारी योद्धाहरू नै चाहिने रहेछ ।’

राष्ट्रवादी चिनियाँ जनतामाझ लु सुनको लोकप्रियता बढदै गयो । जापानको कठपुतली सरकारको तारो बने यिनी । यिनलाई लक्षित गरी सरकारले सांस्कृतिक दमन गर्न थाल्यो । वामपन्थी सांस्कृतिक आन्दोलनको पक्षमा जनसमर्थन बढदै गयो । १९३० मा यिनी सराईमा स्थापित चिनियाँ वाम लेखकहरूको लिगको सर्वमान्य अध्यक्ष भए ।
१९३१ मा कोमिन्ताङ सरकारले पाँच जना युवा लेखकहरूको हत्या ग¥यो । दमनबाट जोगिन यिनी भूमिगत भए । हत्या गरिएका लेखक साथीहरूको सम्झनामा यिनले कोमिन्ताङ सरकारको विरोधमा अत्याचारी शासनको खेदो खन्दै ‘चिनियाँ सर्वहारा साहित्य र अग्रगामी लेखकहरूको रगत‘ र ‘अँध्यारो चीनमा कलासाहित्यको वर्तमान स्थिति’ नामक लेखहरू लेखे । संघर्षका यी वर्षहरूमा कोमिन्ताङ सरकारले डेढ लाखभन्दा बढी चिनियाँ क्रान्तिकारीहरूको हत्या ग¥यो । तर यिनको संघर्षशील उत्साह कहिल्यै मत्थर भएन, बरु मृत्युपर्यन्त जुझिरहे । १९ अक्टोबर १९३६ का दिन क्षयरोगका कारण यिनको मृत्यु भयो ।
आजीवन चीनको स्वाधीनताका लागि जुझेर पनि यिनले चीन स्वतन्त्र भएको दिन देख्न पाएनन् । तर माओ जे दुङको नेतृत्वको ‘लामो अभियान’ शानशी आइपुगेकोमा हर्षले विभोर हँुदै यिनले विदेशी पत्रकार स्मेडलीमार्फत् माओलाई बधाइ सन्देश पठाउँदै भने– ‘चीन र मानवताको आशा तपाईउपर नै टिकेको छ ।’
माओले यिनलाई चीनको सर्वहारा सांस्कृतिक क्रान्तिका सर्वोच्च कमाण्डर माने । स्वतन्त्रता आन्दोलनमा यिनको योगदानको उच्च मूल्याङ्कन गर्दै मृत्योपरान्त यिनलाई पार्टीको मानार्थ सदस्यता प्रदान ग¥यो ।
चीनका गोर्की भनेर पनि चिनिने गरेका यिनको नाममा चीन सरकारले लु सुन साहित्य पुरस्कारको स्थापना गरेको छ । विद्यालयका विभिन्न तहका पाठ्यक्रममा यिनका साहित्यिक रचनाहरू समावेश गरिएका छन् । कान्छा भाइको छोरीले लेखेको ‘मेरो ठूलो बुबा लु सुन’ भन्ने बाल लेख प्राथमिक पाठ्यक्रममा रहेको छ । यिनका नाममा एस्टेरोइड समूहको एउटा ताराको पनि न्वारान गरिएको छ । बुध ग्रहको खाल्डोलाई पनि चिनियाँ वैज्ञानिकहरूले यिनकै नामबाट न्वारान गरेका छन् । जापानी विद्यालयहरूमा पनि यिनका कृतिहरूको पठनपाठन हुने गरेको छ ।

जापानी नोभेल प्राज्ञ ९१९९४० केन्जाबुरो ओएका शब्दमा यिनी बिसौं शताब्दीका महान एसियाली लेखक हुन् । तर ताइवानमा भने १९८० सम्म यिनका रचनाहरू प्रतिबन्धित नै थिए । यिनका कतिपय रचनाहरू एडगर स्नो र निम वेल्सले अंग्रेजीमा अनुवाद गरेका छन् । याङ शियन र ग्लाडिज याङको संयुक्त सम्पादनमा अंग्रेजी भाषामा यिनका प्रतिनिधि रचनाहरू चार खण्डमा संग्रहित छन् । यिनी नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा झैँ वहुविधात्मक स्रष्टा थिए । लेखक, समालोचक, निबन्धकार, उपन्यासकार, कथाकार, कवि, सम्पादक, अनुवादक त थिए नै, र थपमा जुझारु अभियन्ता पनि थिए, जो आवश्यक पर्दा सङ्घर्षको टुँडिखेलमा अग्रपंक्तिमा देखिन्थे ।

Featured Programs
Photo Gallery
RJ Profile

LAXMAN GAJUREL

NEWS PRESENTER

NARENDRA RIMAL

NEWS PRESENTER

Message Board
Public Poll

Loading...

Program Archives