Date Sunday, 2017 May 28
Studio Time 04:20:00 NST
News »
साहित्य
हराउँदै जान थाल्यो छन्द…

वाग्लुङ । नेपाली साहित्यमा कवितालेखनको झन्डै २३८ वर्ष लामो इतिहास छ । विसं १८३१ मा कवि सुवानन्द दासले राजा पृथ्वीनारायण शाहका बारेमा कविता लेखेपछि नेपाली कवितालेखनको सुरुआत भएको मानिन्छ ।नेपाली कविताको मूल गुण अर्थात् सुन्दरता शास्त्रीय छन्दको प्रयोगमा पछिल्लो समयमा कमी आउन थालेपछि भाषा, साहित्यप्रेमीले चिन्ता व्यक्त गर्न थालेका छन् ।

‘नेपाली साहित्यकै सबैभन्दा लोकपि्रय विधा भनेको नै कविता हो, यसको आधारभूत शास्त्रीय लयको मर्म र उचाइलाई नयाँपुस्ताले अनुसरण गर्न अति आवश्यक छ’ नेपाल प्रज्ञा- प्रतिष्ठानका सदस्य प्रेम छोटाले बताउनुभयो । नयाँ स्रष्टामा घट्दो रुचि र अभ्यासको कमीले पनि छन्दोबद्ध कविता लेख्ने कविको सङ्ख्यामा पनि कमी आउन थालेको उहाँको भनाइ छ । नेपाली कवितालेखनको परम्परामा अहिले १० वटा जति छन्द प्रचलनमा रहेका छन् । छन्दको शास्त्रीय लयभित्र पनि १३६ वटा जति सूत्र रहेका छन्- प्राज्ञ छोटाले भन्नुभयो । नियमको परिधि र सूत्रमा बसेर सिर्जना गर्नुपर्ने हुँदा छन्द कविता लेखन त्यति सहज छैन त्यसकारण पनि छन्दमा लेख्नेको सङ्ख्या वृद्धि हुन नसकेको छोटाले बताउनुभयो ।

‘छन्द कविताको आफ्नैखालको शैली र वजन रहेको छ, यसले जनजीवनलाई छिटो प्रभाव पार्छ, यो सरल र सरस पनि हुन्छ’ धौलागिरि बहुमुखी क्याम्पस बागलुङका उपप्राध्यापक षडानन्द पौडेलले भन्नुभयो । पश्चिमा साहित्यको बढ्दो प्रभावले नेपाली साहित्यको आधारभूत मर्म र शैली कमजोर बन्दै गएको उहाँको तर्क छ । छन्दको अध्ययन नहुनु र कतै प्रशिक्षण पनि नहुँदा समस्या सिर्जना भएको छ उहाँले शास्त्रीय छन्दको संरक्षण र विस्तारका लागि विद्यालय तहदेखि नै पाठ्यक्रममा समावेश गर्न सके छन्दको प्रवर्द्धन हुन सक्ने विश्वास गर्नुभयो ।

राणाकालमा नेपाली साहित्यको विकासक्रम करिब अवरुद्ध जस्तै थियो । स्वतन्त्र रुपमा लेख्ने, बोल्ने अधिकार सबै नागरिकलाई थिएन । त्यतिबेलाका कविलेखकलाई पनि राणाकै बारेमा स्तुतिगान गाउनुपर्ने र उनीहरुकै बारेमा साहित्य सिर्जना गर्नुपर्ने बाध्यता थियो । विसं २००७ को क्रान्तिपछि नेपाली साहित्यमा पनि केही सकारात्मक प्रगति भए, विदेशी साहित्यको अध्ययन, प्रकाशनजस्ता गतिविधिले नेपाली साहित्यमा पनि नयाँ प्रयोग भित्रयाएको छ – उपप्राध्यापक पौडेलको तर्क छ ।

राजनीतिक फेरबदल र सामाजिक चेतनास्तरमा वृद्धि भएसँगै नेपाली साहित्यलेखनमा नयाँ प्रयोगवादी शैली भित्रिँदै गए । कवि गोपालप्रसाद रिमालले पहिलोचोटि नेपाली भाषामा गद्य कविता लेखेपछि मुक्तछन्दमा कविता रच्ने प्रचलन सुरु भएको मानिन्छ । त्यसयता नेपाली साहित्यमा गद्य विधामा कविता चलाउने सैयौँ कवि जन्मिसकेका छन् । छन्द कविता लेख्नेको सङ्ख्या तुलनात्मकरुपमा कमी रहे पनि यो मेटिनै लागेको भने छैन- बागलुङवासी कवि धनराज सापकोटा जिज्ञासुले बताउनुभयो । नयाँपुस्तामा अभ्यासको कमी भएकाले शास्त्रीय छन्दको प्रयोगमा कमी आएको उहाँको भनाइ छ । यता प्रगतिशील कवितामा कलम चलाउने मुकेशचन्द्र राजभण्डारी भने नेपाली कविताको शास्त्रीयलेखन परम्परालाई जोगाउँदै नयाँ शैली र प्रवृत्तिको पनि प्रयोग गर्नुपर्ने तर्क राख्नुहुन्छ ।

पछिल्लो समयमा धेरै कम मात्र कविले छन्दमा कविता लेख्ने गरेको पाइए पनि बागलुङमा अधिकांश कवि लेखकले मुक्त छन्दमा कवितालगायतका सिर्जना गर्ने गरेको पाइन्छ । यहाँ हुनेसाहित्य गोष्ठीमा प्रायः गजल, गीत र गद्य कविता नै हावी हुने गरेको र छन्द कविता निकै कम मात्रामा सुन्ने गरिएको पत्रकार प्रकाश बरालले बताउनुभयो । प्राज्ञ प्रेम छोटाले छन्दयुक्त कविताको प्रवर्द्धन गर्दै नेपाली कवितालेखनको महत्पूर्ण पक्ष शास्त्रीय लयको संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो ।
 

Featured Programs
Photo Gallery
RJ Profile

AITAMAYA LAWATI

TECHNICIAN

ANUP RAI

Progarm Presenter

Message Board
Public Poll

Loading...

Program Archives